बाजुराको बूढीगङ्गामा मतदान सुरु : मतदान शान्तिपूर्ण रुपमा चल्दै
बाजुरा । असार २३, बाजुराको बूढीगङ्गा नगरपालिकामा आज पालिका चुनावका लागि पुनः मतदान सुरु भएको छ । नयाँ जनप्रतिनिधि चुन्न बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहित झन्डै १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि गएको वैशाख ३० गते भएको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो । बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन । स्थिति असहज भएपछि त्यहाँका निर्वाचन अधिकृत नै फिर्ता भएका थिए ।
१० वटा मतदानस्थल र १९ वटा केन्द्र रहेको बूढीगङ्गामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वटा वडा रहेको नगरपालिकाको मतदाता सङ्ख्या झन्डै १ हजार ३ सय रहेको छ ।
नगरपालिकाको मेयर पदमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रङ्गबहादुर खाती उम्मेदवार हुनुहुन्छ ।