साझाको बिजुलीबाट चल्ने तीन वटा बस आजदेखि सञ्चलनमा, चालक र परिचालक महिला

काठमाण्डौ । असार २३, साझा यातायातले आजदेखि बिजुलीबाट चल्ने तीन वटा बस सञ्चालन गर्न लागेको छ ।
तीन वटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने जनाईको छ ।
साझाका यी तीन वटै बसका चालक र परिचालकमा महिला छन् । बस अपाङ्गतामैत्री छ । अपाङ्गता भएकाहरुले ह्वीलचियरसहित सजिलै यो बस चढ्न सक्नेछन् ।
सिटी बसको डिजाइनमा बनेको यो बस सेमी फ्लोर बस हो । यसमा ज्येष्ठ नागरिक, अशक्त र बालबालिका सजिलै चढ्न र ओर्लन सक्छन् । बसमा एक चालक र एक अपाङ्गता भएकाका लागि छुट्याइएको सिटसहित जम्मा २६ सिट रहेको छ । यस्तै, उभिएर यात्रा गर्न सजिलो होस् भन्नका लागि ह्याण्डल बार राखिएको छ ।
यस्तै, बसमा सीसीटीभी, टीभी, वाइफाई, डस्बिन र बस रोक्न विशेष खालको बटमको सुविधा रहेको साझाले जनाएको छ ।
साझाले विद्युतीय बस खरिद गर्न गएको चैत १३ गते ग्लोबल टेन्डर आह्वान गरेको थियो । इन्धनको भाउ महँगिएर डिजल, पेट्रोलबाट चल्ने गाडी चलाउनै समस्या भइरहेका बेला अहिले विद्युतीय गाडीलाई विकल्पको रुपमा हेर्न थालिएको छ ।