मोरङ कारागारमा कोरोना फैलियो, एक जनाको मृत्यु, १८ जना उपचाररत

विराटनगर। असार ३१, मोरङको जिल्ला कारागारमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको जिल्ला कारागारमा केही दिनदेखि कोरोना फैलिएको हो ।
कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पतालमा भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको बिहीबार नै मृत्यु भएको छ भने १८ जनाको उपचार भइरहेको छ । अस्पताल पुर्याइएका मध्ये १६ जनालाई एन्टिजेन पोजेटिभ देखिएको छ ।
‘एकसय भन्दा बढी डिग्री ज्वरो आएका विरामीलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार अस्पताल भर्ना भएका विरामीको आज एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। यज्ञराज खरेलले बताए । अत्यधिक ज्वरो आएपछि कोसी अस्पतालमा गरिएकामध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको कोरोना संक्रमणवाट मृत्यु भएको हो ।
ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई १०४ डिग्री ज्वरो आएको थियो । उनको शव बुझेर आफन्तले लगिसकेका छन् । कारागारको क्षमता भने महिला पुरुष गरी तीन सय जना हो तर कारागारमा हाल एक हजार ८७ जना कैदी राखिएको छ ।