अरुलाई मनपर्ने विषयमा कुरा गर्नु आफ्नो सफलताको सुरुवात हुनु हो

हामी आफूबारे सोचिरहन्छौँ र आफ्नै कुरा गरिरहन्छौँ । सबैभन्दा आफ्नो कुरा गरेर सन्तुष्ट हुन्छन् । सबैलाई आफ्नै कुरा भनिरहन मन लाग्छ । आफ्नो कुरा नसध्याई मानिसहरु ठाउँ छोड्दैनन् । आफ्नो कुरा भनिसकेपछि ल त मेरो फलाना काम छ म हिडेँ है भनेर बाटो तताउन थाल्छन् ।
अरुको कुरा सुनिरहने रुचि कसैलाई हुँदैन । त्यसैले हामीले आफ्नो कुरा गरेर प्राप्त हुने सन्तुष्टिलाई त्याग्न सक्यौँ भने अरुमा प्रभाव पार्ने हाम्रो क्षमतामा ठूलो प्रगति हुन्छ । हो, यस्तो गरिहाल्न गाह्रो छ । तर निरन्तर प्रयासबाट सम्भव छ ।
अरुसँग कुरा गर्दा उसका लागि मनपर्ने विषयबाट कुरा सुरु गर्नुपर्छ । उसका लागि सबभन्दा मनपर्ने उसकै विषय हो । उसका बारे उसैसाग कुरा गर्यौँ भने उसलाई मनपर्छ । यसो गर्दा ऊ हामीप्रति सकारात्मक हुन्छ । आफ्नो कुरा गर्ने मानिसहरुको इच्छाबमोजिम हामीले उसलाई, उसकै विषयमा कुरा गर्न सहयोग गर्नुपर्छ ।
उसलाई उसकै बारे कुरा गराउनमा हामीले दक्षता हासिल गर्यौँ भने मानिसहरुले हामीलाई मन पराउन थाल्नेछन् । उसलाई उसकै बारे प्रश्न गरेर दक्षता हासिल गर्न सकिन्छ, जस्तै : तपाईंलाई सन्चै छ ? तपाईंको पढ्नका लागि गएको छोरा/छोरीको के खबर छ ?
साभार : ‘उत्तम ज्ञान’ पुस्तकबाट