काठमाडौँमा आजदेखि कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गरिने

सहयात्रा टिभी

काठमाडौँ । १ साउन, काठमाडौँ महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्न थालेको छ ।

महानगरले यसअघि सार्वजनिक तालिका अनुसार आज कुहिने फोहोर सङ्कलन हुनेछ । महानगरले कुहिने फोहोर आइतवार र बुधवार तथा नकुहिने फोहोर सोमवार र शुक्रवार सङ्कलन गर्नेछ । तोकिएअनुसार नागरिकले फोहोर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्नेछ ।

महानगरले एक महिनाअघि नै सूचना निकालेर फोहोर वर्गीकरण गर्न अनुरोध गरेको थियो । फोहोरको वर्गीकरण नगरिएमा प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबानासमेत हुनेछ । काठमाडौँ महानगरको वातावरण विभाग प्रमुख सरीता राईका अनुसार यसरी छुट्याइएको फोहोर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहोर लिने गाडी पनि फरक फरक दिन आउने भएकाले नागरिकले त्यसैअनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

नागरिकले सूचनालाई बेवास्ता गरेमा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने तयारी छ । पछिल्लो समय महानगरसहित काठमाण्डौ उपत्यकाका १८ वटा पालिकाको फोहोर व्यवस्थापनको काम जटिल बन्दै आएको छ ।

नुवाकोटको सिसडोल भरिनुका साथै त्यहाँसम्म जाने सडकमा स्थानीय बासिन्दाले पटक पटक अवरोध गर्दा समस्या आएपछि फोहोर व्यवस्थापनमा सहजताका लागि महानगरले नयाँ अभ्यास सुरु गरेको हो ।

प्रकाशित : 17 July, 2022

प्रतिक्रिया दिनुहोस्