आज बिहान सवा ३ बजे रोकियो जोरपाटीमा निस्किएको ग्याससहितको लेदो

सहयात्रा टिभी

काठमाडौँ । साउन ४, जोरपाटीको लोसेटारस्थित सन्तकुमार लामाको घरको परिसरबाट ग्याससँगै निस्किएको बालुवाको मुस्लो रोकिएको छ ।

मंगलबार बिहान १० बजेदेखि निस्किएको लेदोसहितको ग्यासको मुस्लो आज बिहान सवा ३ बजे करिब १७ घण्टापछि रोकिएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित लामाको घरमा बोरिङ खनेर पाइप हाल्ने क्रममा एक्कासी ग्याससहित लेदोको मुस्लो निस्किएको थियो ।

उक्त मुस्लो आज बिहान सवा ३ बजे रोकिएको वडाध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

अहिले अवस्था सामान्य र लोसेटार टोलमा आगमन सहज बनाइएको बताए ।

रातिसम्म मुस्लो निस्कने क्रम नरोकिएपछि नेपाली सेनाको टोलीले त्यस क्षेत्र आसपासका ५० मिटर नियन्त्रणमा लिएर प्रवेश निषेध गरेको थियो ।

ग्याससहित लेदो निस्किएको ठाउँमा अहिले एक वर्ग फिटको खाल्डो बनेको वडाध्यक्ष सुवेदीले जानकारी दिए । त्यस ठाउँमा अहिले हिलो थुप्रिएको छ ।

लेदोसहितको ग्यास निस्कँदा सय मिटर वरिपरिको क्षेत्र प्रभावित भएको छ । लेदो हटाउन नगरपालिकाले तयारी गरिरहेको छ ।

प्रकाशित : 20 July, 2022

प्रतिक्रिया दिनुहोस्