मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

काठमाडौं । साउन १८, पहिरोले अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो खसेको झण्डै ८ घण्टापछि सडक खुलेको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले बताए ।
सडकमा गएराति र अस्ति सोमबार रातिदेखिका केही गाडी रोकिएकाले लामो जाम थियो । गएराति सडक खुल्दा पनि यसैगरी लेन अनुशासन पालना नगर्दा हिजो दिनभर रोकिएका सबै गाडी पार हुन पाएका थिएनन् । चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा फेरि पहिरो खस्दा गएराति २ बजेदेखि सडक ठप्प भएको थियो । अस्ति सोमबार राति ११ बजेदेखि बन्द भएको सडक झण्डै २४ घण्टा पछि खुलेको थियो । तर, फेरि २ बजेतिर पहाडको ढिस्कोसहित पहिरो झरे पछि अबरुद्ध भएको हो ।