नारायणी नदीमा बेवारिसे “पानी जहाज” : पानी जहाजमा माकुराको वास

चितवन । साउन २०, नारायणी नदीमा सञ्चालन गर्ने उद्देश्यले बनाइएको क्रुजसीप (सानो पानीजहाज) अलपत्र अवस्थामा पुगेको छ । दुई वर्ष अगाडि नै सञ्चालनमा आउन लागेको भनिएको पानी जहाज अहिले सम्म पनि बेवारिसे बनेको छ । नदी किनारमा डोरीले बाँधेर राखिएको जहाजका सिसा फुटेपछि बाहिर बोराको टालोले छेकिएको छ भने जहाजभित्र माकुराको जालोले ढाकेको छ ।
सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण सुरुआत भएको थियो । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम सकिएको थियो । २०७६ साल फागुनदेखि अनलाइन टिकट बुकिङ्ग सुरु गर्ने बताइएको थियो । नदीमा परीक्षण सफल भएको जहाज नियमित सञ्चालनमा नआउँदै बेवारिसे बन्न पुगेको हो ।
राइनो वाटर इन्टरटेनमेन्ट प्रालिमार्फत भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले जहाजको निर्माण गरेको थियो । क्रुजमा दुई इञ्जिन रहेका छन् । लामो समयदेखि इञ्जिन चलेको छैन । निर्माणका लागि १५ करोड रुपैयाँ हाराहारी खर्च भएको जनाइएको छ ।