केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्मचारीलाई अर्थमन्त्रीको आश्वासन : बजेट भाषणअनुसार नै तलब वृद्धि हुन्छ

सहयात्रा टिभी

काठमाडौँ । साउन २३, अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने आश्वासन दिएका छन् ।

बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरुका नेताहरुले आज अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाव दिएका थिए । उनीहरुसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

५ कर्मचारी संगठनका अध्यक्षहरुसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागू गर्ने र नमिलेका विषय ‘पे कमिसन’गठन गरेर मिलाउने प्रतिबद्धता व्यक्त गरेको पोखरेलले बताए ।

पोखरेलसहित निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेले अर्थमन्त्री शर्मालाई भेटेका थिए ।

अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख थियो ।

तर साउन १ गतेदेखि लागू हुने कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि भएको विवरणसहितको एक डकुमेन्ट सार्वजनिक भएको छ । अर्थ मन्त्रालयको छापसहितको सो विवरण अनुसार शाखा अधिकृतहरुले यही साउन महिनादेखि २४ प्रतिशत, उपसचिवहरूले २३.३ प्रतिशत, सहसचिवहरूले २३.३ प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउने उल्लेख छ । यसको आधिकारिकता भने पुष्टि भइसकेको छैन ।

तर चालकको भन्दा आफूहरुको तलबमान कम भएको भन्दै नासुहरु यसमा असन्तुष्ट छन् । असमान ढंगले तलब वृद्धि गरिंदा आफूहरु मर्कामा परेको भन्दै नासुहरुले आज सिंहदरबारभित्र ‘पेन डाउन’ गरेका छन् ।

प्रकाशित : 8 August, 2022


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्