जन्मिँदै शिशुको नाइटोबाट आन्द्रा बाहिर निस्किए पछि, दुई पटक गरेर शल्यक्रिया सफल

काठमाडौँ । साउन २७, चितवनमा जन्मिँदै नाइटो नबनी नाइटोको भागबाट आन्द्रा बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल भएको छ । चिकित्सकहरुका अनुसार यो जन्मिँदै एकदेखि दुई लाख बच्चामध्ये एक जनामा देखिने दुर्लभ समस्या भएको जनाए ।
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १२ की सरस्वती बस्नेतले भरतपुर अस्पतालमा प्रसूति सेवा लिनु भएको थियो । उहाँबाट जन्मिएको शिशुको दुई घण्टामै चितवन मेडिकल कलेज रेफर गरिएको थियो।
चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) का पेडियाट्रिक सर्जन डा.प्रकृति गिरीको नेतृत्वमा एनेस्थेसिया डा. विमल रानाभाट, डा.प्रिन्स दवाडी, डा. मयङ्कराज कर्णसहितको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो ।
अस्पताल भर्ना भएको चार दिनपछि गएको असार १२ गते पहिलो र त्यसको चार हप्तापछि साउन ९ गते दोस्रो शल्यक्रिया गरिएको थियो । शिशुको मांसपेशी पूर्ण रुपमा विकास नभएकाले बाहिर निस्किएको आन्द्रा एकै पटकभित्र नअटाउने भएकाले दुई पटक गरेर शल्यक्रिया गर्नु परेको डा। गिरीले जानकारी दिनुभयो ।
नवजात शिशुदेखि १४ वर्षमुनिका बालबालिकाको शल्यक्रिया संवेदनशील हुनेगर्छ । त्यसैले यस्ता बालबालिकाको शल्यक्रिया पेडियाट्रिक सर्जनबाटै गराउनु उत्तम हुने चिकित्सकद्धारा जानकारी प्राप्त भएको छ ।