सेयर बजारका बादशाह झुनझुनवालाको निधन
काठमाडौँ । साउन २९, भारतीय सेयर बजारमा ‘बादशाह’को उपनाम पाएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको जानकारी प्राप्त भएको छ । ५ जुलाई १९६० मा जन्मिएका झुनझुनवाला मुम्बईमा हुर्केका थिए । उनको ६२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
स्टक बजारमा लगानी गर्ने उनको झुकाव किशोरावस्था बाटै सुरु भएको थियो । बुबा आयकर अधिकारी थिए । उनका बुवाले दिनहुँको खबरले सेयर बजारमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा ध्यान दिन आग्रह गर्थे ।
उनलाई आफ्ना पिताको संगतले सेयर बजारतर्फ आकषिर्त गरेको हो । उनले १९८५ बाट सेयर बजारमा लगानी गर्न थालेका थिए । उनी पेशाले भने चार्टर्ड एकान्टेन्ट थिए । राकेशको सेयर बजारको सुरुवाती लगानी ५ हजार भारु रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उनको सम्पत्ति ६ अर्ब डलर रहेको छ ।
हालै उनले आकासा एयरलाइन्समा लगानी गरेका थिए । यस कम्पनीमा २ अर्ब ६४ करोड भारु लगानी गरेका उनले ७० वटा जहाज किन्ने योजना बनाएका थिए । उनको आइतबार बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो । उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तस्वीर राख्दै शोक व्यक्त गरेका छन् ।