बाढी र आधिवेरीको कारण सयौँ प्रभावित न्युजिल्यान्डमा आपत्कालीन अवस्था घोषणा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । भदौ ३, न्युजिल्यान्डको दक्षिणी टापुमा आएको बाढी र आधिवेरीको कारण सयौँ परिवार घर छोड्न बाध्य भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । मुख्यगरी बुलर र नेल्सनमा आपत्कालीन अवस्था घोषणा गरिएको छ ।
ठूलो पानी परेपछि नेल्सनको मुख्य नदी मैताईमा बाढी आएको र नदीले प्राकृतिक धार परिवर्तन गरी घर, पाइप र सडकमा क्षति गरेको छ ।बस्ती तथा जमिनमा दुई फिटभन्दा धेरै पानी जमेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धार टोली र सुरक्षा निकायले जलमग्न सडकमा मानिसलाई आवश्यक सहयोग गरिरहेका छन् ।
बाढीका कारण ढलहरू फुटेकाले सुरक्षित पिउने पानीको समस्या भएको छ । आपत्कालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले नेल्सनको भ्रमण गरी बाढी प्रभावितलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उत्तरी टापु पनि खराब मौसमबाट प्रभावित भएको छ ।नर्थल्यान्डमा १ सय २० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आधिवेरी चलेको र त्यसले रुखहरु ढलेर दुर्घटना समेत भएको खबरमा उल्लेख छ ।