शंकास्पद व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्कियो

काठमाडौं । भदौ ५, त्रिभुवन विमानस्थलबाट पक्राउ परेका एक शंकास्पद व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्किएको प्रहरी वृत्त गौशालाले जनाएको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान छन् ।
हिजो बिहान फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
राहुलको गतिविधि शङ्का लागेर प्रहरीले पक्राउ गरी काठमाण्डौ मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शङ्कास्पद वस्तु देखिएपछि प्रहरी वृत्त गौशालामा दिसा गराएको प्रहरीले जनाएको छ ।
उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ।थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।