आगामी तीन दिन पानी पर्ने, आज आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । भदौ ९, आगामी तीन दिनसम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार शनिबार रातिसम्मै देशका विभिन्न भागमा वर्षा हुनेछ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको महाशाखाले जनाएको छ।
अहिले बिहान देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रही बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै शुक्रबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
शनिबार भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश र बागमती प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको संभावना रहेको छ ।