काठमाण्डौमा बालेनको ‘एक्सन’ : घरधनी र व्यापारी आक्रोशित, अरु नागरिक उत्साहित

सहयात्रा टिभी

काठमाण्डौ । भदौ १०, काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको पछिल्लो ‘एक्सन’ले घरधनी र व्यापारी झस्किएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता प्रायः मौन छन् भने अरु धेरै नागरिक मेयर शाहले राम्रो काम गरेको भन्दै उत्साहित भएका छन् ।

हातमा सम्बन्धित घरको नक्सा र महानगरको ३५ दिने सूचना बोकेर मेयर शाह दिनहुँ डोजर लिएर आफैँ मैदानमा आएका छन् । इञ्जिनियरिङ विषयमा जानकारसमेत भएकाले उनलाई नक्सा विपरीत बनेको संरचना पत्ता लगाउन र उतिखेरै ‘एक्सन’मा उत्रन सजिलो भएको छ ।

अवैध संरचना भत्काउनुअघि महानगरले ३५ दिने सूचना निकालेको थियो । तर घरधनी र व्यापारीले यो सूचनालाई बेवास्ता गरे । कतिपय व्यापारी भने ३५ दिने सूचना थाहा नभएको बताउँछन् ।

काठमाण्डौ मलमा फेन्सी पसल चलाउने व्यापारी उमेश यादव महानगरले कुनै सूचना नै नगरि एक्कासी डोजर लिएर आएर पसल भत्काएको भन्दै आक्रोशित भएका छन् । दशैँको मुखमा आएर आफ्नो ५० लाखको नोक्सानी गरेकोमा त्यसको क्षतिपूर्ति कसले दिने हो भनेर प्रश्न गर्छन् यादव । उनले भन्छन्, ‘भत्काउने नै भए कमसेकम सूचना त दिनुपर्छ । हामीलाई केही थाहै छैन । एक्कासी डोजर ल्याएर हान्न थाल्यो । सामान पनि झिक्न पाएन । यो कस्तो अन्याय हो ।’

व्यापारीहरुले आफूहरुलाई विना कुनै जानकारी तथा सूचना भत्काएको भन्दै विरोध गरिरहे पनि अरु नागरिक भने महानगरको कदमबाट उत्साहित छन् । बुधवार काठमाण्डौ मलको अवैध संरचनामा डोजर चलिरहँदा पुल्चोककी सरु नगरकोटी पनि त्यहीँ थिए ।

‘मान्छे हिँड्ने ठाउँ नै नहुनेगरी यसरी अवैध निर्माण गर्न पाइन्छ ?’ उनको प्रश्न छ, ‘उता रोड छ यता फुटपाथमा हिँड्ने ठाउँ छैन । अब हामी कहाँबाट हिँड्ने ?’ उनि अगाडि थप्छिन्, ‘यो गरेर जनतालाई केही सहयोग नै भएको हो । यो एकदमै भिड हुने ठाउँ हो । नागरिकलाई हिँड्ने ठाउँ पनि त चाहियो नि । मलाई चाहिँ यो ठिक लाग्यो ।’

महानगरले डोजर लगाएर भत्काएपछि खुला तर कुरुप देखिएको काठमाण्डौ मल अगाडि उभिरहेका विक्रम अधिकारी विदेश जाने तरखरमा छन् । उनि २०७२ सालको भूकम्पपछि सुन्धारा कस्तो भएछ भनेर हेर्न निस्किएको हो । नयाँ बनेको धरहरा अनि त्यसै परिसरमा बन्दै गरेका अन्य संरचना हेर्दै अगाडि बढ्ने क्रममा उनका आँखा काठमाण्डौ महानगरले डोजर लगाएर असरल्ल रहेको काठमाण्डौ मलमा पर्यो ।

काठमाण्डौ महानगरले किन भत्काएछ भनेर जिज्ञासा राख्दा धेरैले नक्सा पास नगरि बनाएको गैरकानुनी संरचना हुनाले महानगरले भत्काएको भन्ने उत्तर पाएपछि उनलाई महानगरले ठिकै गरेको भन्ने लाग्यो ।

‘यो सरकारी जग्गा हो । सरकारी जग्गा अतिक्रमण गरी बनाएका टहरा गलत हो । त्यसकारण भत्काउनु जायज हो भन्छु म । सरकारी जग्गा हो । यसरी बनाउनु हुँदैन,’ उने भने, ‘जे गर्यो सरकारले राम्रैका लागि गर्यो । राम्रो गर्यो भन्ने मेरो धारणा । मेरो विचार ।’

महानगरले अन्यत्रको अवैध संरचनासमेत भत्काउन लागिरहेकोमा त्यहाँ रहेका पसल तथा व्यापारिक गृहलाई जानकारी दिएर मात्र यस्ता संरचना भत्काउनु पर्ने उनको विचार छ । अधिकारी भन्छन्, ‘जति पनि व्यापार, व्यवसायहरु गरिएको छ उनिहरुलाई जानकारी दिएर क्षति नहुने तरिकाले भत्काउँदा राम्रो हुन्छ ।’

काठमाण्डौ मलमा भिड बढेसँगै के भएछ भनेर हेर्न आएका छन्, नेपाल वायुसेवा निगममा काम गर्ने वीरबहादुर तामाङ । काठमाण्डौ मलको कुरुप चित्र हेर्दै बसेका तामाङलाई पनि यसरी अवैध संरचना भत्काएको ठिक लागेको छ । उनि भन्छन्, ‘बाटो च्यापेर बनाएको जहाँ पनि भत्काएको राम्रो लाग्यो ।’

काठमाण्डौ महानगरले नक्सा पास नगरि बनाएका संरचना वा नक्सा एकाथरी अनि उपयोग अर्कोथरी रहेका अवैध संरचना भत्काउन सुरु गरेको हो । महानगरले गएको साउन १ गते ३५ दिने सूचना जारी गर्दै घर तथा भवन निर्माण गर्दा नक्सा पास भए बमोजिम प्रयोग गर्न निर्देशन दिएको थियो । महानगरले यो सूचना विशेष गरी अण्डरग्राउन्ड पार्किङका लागि नक्सा पास गर्ने तथा त्यस विपरीत पार्किङका लागि प्रयोग नगरि पसल तथा अन्य व्यापारिक प्रयोजनमा लगाउनेका विरुद्ध थियो ।

प्रकाशित : 26 August, 2022

प्रतिक्रिया दिनुहोस्