महानगरले राहदानी विभागको बेसमेन्टमा रहेको होल्डिङ रुमलाई पार्किङ खाली गरायो

काठमाडौं । भदौ १०, काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड बेसमेन्टमा प्रतिक्षालय रहेको पार्किङ खाली गराएको छ ।
ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । नियमविपरीत बनेका संरचना हटाउन आज महानगरको टोली राहदानी विभाग पुगेको हो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।
राहदानी विभागले बेसमेन्टलाई पार्किङको लागि नभइ सेवाग्राहीलाई प्रतिक्षालयको रुपमा प्रयोग गरेको छ । महानगरका प्रहरीले त्यहाँ राखिएका कुर्सीहरु हटाएका छन् । दैनिक २५ सय भन्दा धेरै सेवाग्राहीलाई सेवा दिँदै आएको राहदानी विभागले भने उनीहरुलाई बस्नको लागि ठाउँको अभाव भएकाले बेसमेन्टमा बस्ने व्यवस्था गरेको जनाएको छ ।
महानगरले नक्सा पास गर्दा उल्लेखित बाहेकका संरचना बनाएका वा प्रयोजनमा ल्याएका संरचनाहरु हटाउँदै आएको छ । हिजो बानेश्वरमा रहेको अल्फा बिटाको नियमविपरीत संरचना हटाएको थियो भने अस्ति काठमाण्डौ मल लगायत अरु क्षेत्रका नियम विपरीतका संरचना हटाएको थियो ।
महानगरले पार्किङको लागि भनेर बनाएका तर अन्य प्रयोजनमा प्रयोग भइरहेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । तोकिएको अवधिसम्म पनि संरचना नहटाउँदा महानगर आफै एक्सनमा उत्रेको हो ।