चितुवाको आक्रमणबाट घाइते बालकको सफल शल्यक्रिया

काठमाडौं । भदौं १२ , चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।
चितुवाले च्यापेर उनीलाई लग्दै गरेको अवस्थामा उनकी आमा लक्ष्मी परियारले बचाएकी थिइन् । गम्भीर घाइते सुलभलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज ल्याइएको थियो । बालकको थप उपचारका लागि तत्काल कलेजमा शल्यक्रिया गरी उपचार अगाडि बढेकोले बालकको जीवन रक्षा भएको जनाएको छ ।
अस्पतालका निर्देशक डा दयाराम लम्सालले बालकको सफल शल्यक्रियापछि हाल अवस्था सुधार हुँदै गएको जानकारी दिए । बालकको घाँटीमा गम्भीर चोट लागेको थियो । श्वास नली र रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका साथै बालकको आँखा, नाक, मुखजस्ता महत्वपूर्ण अङ्ग क्षति हुनबाट जोगिएको कारण बालकलाई बचाउन सकिएको जानकारी दिए ।
बालकका बाबु सुवास परियारले शल्यक्रिया सफल भएकामा खुशी व्यक्त गरे । उनका अनुसार गत बुधबार साँझ ५:३० बजेको समयमा आँगनमा खेलिरहेका सुलभलाई चितुवाले लगेको थियो । घरभित्र र पिँढीमा घरका अन्य सदस्य भइरहेको समयमा चितुवाले लगेको उनको भनाइ छ ।