निलम्बित प्रधानन्यायाधीश जबरा बयान दिन संसदीय समितिमा

काठमाडौं । भदौ १५, प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सिंहदरबार पुगेका छन् । जबरालाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिँदै सिंहदरबारभित्र पुर्याएका छन् ।
जबरामाथि कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक हलमा सोधपुछ गर्ने तयारी भएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । जबरामाथि महाभियोग प्रस्तावमा उल्लेखित आरोप र सरोकारवाला निकायबाट प्राप्त प्रमाणका आधारमा सोधपुछ गर्ने समितिको तयारी छ ।
जबरालाई सोध्ने प्रश्नावली समितिले तयार गरिसकेको छ । जसमा संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको, गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको, खराब आचरण र कार्यक्षमता अभाव, न्याय सम्पादनमा अवरोध गरेकोलगायत विषय समेटिएको छ ।
पदीय जिम्मेवारीविपरीत कार्यहरू गरी संविधान र कानुनको उल्लंघन गरेको, कार्यक्षमता नभएको, खराब आचरण र कर्तव्य पालना नगरेको भन्दै जबरामाथि गएको फागुन १ मा महाभियोग दर्ता भएको थियो । त्यसपछि जबरा निलम्बनमा परेका थिए ।