पुस्करनाथलाई फकाउँदै कांग्रेस नेताहरू
धनगढी । भदौ १५, पूर्वराज्यमन्त्री पुस्करनाथ ओझाले नेपाली कांग्रेसबाटै प्रतिनिधि सभा चुनाव लड्ने इच्छा देखाएका छन् । तर क्षेत्र नम्बर ५ नछाड्ने उनको अडान छ ।
२०७४ को चुनावमा पनि ओझा दाबेदार थिए । तर पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु उम्मेदवार बनिन् । आफूले टिकट नपाएपछि ओझाले सहयोग गरेनन् । एमालेका नारदुमनी रानासँग पराजित भएपछि कांग्रेसले आरजुलाई हराउन भूमिका खेलेको भन्दै ओझालाई पार्टीबाट निस्कासन गर्यो ।
सत्तारुढ गठबन्धनको समर्थनका बाबजुद कांग्रेस उम्मेदवार नृप वड पराजित भए, स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भए । ४ मंसिरको चुनावमा पनि ओझाको समर्थन नहुने हो भने कांग्रेसलाई कैलाली ५ मा सहज देखिंदैन ।
भेटमा ओझाले कैलाली-५ मा कांग्रेसबाट चुनाव लड्न चाहेको बताएका छन् । ‘अहिले मेरो ध्यान चुनावमा केन्द्रित छ । नेपाली कांग्रेस पार्टी मेरो घर हो, म आफ्नो घरबाटै अगामी चुनाव लड्न चाहन्छु’ ओझाको भनाइ उदृत गर्दै कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले अनलाइनखबरसँग भने, ‘कैलाली क्षेत्र नम्बर ५ पनि मेरो घर भएकाले यहीबाट चुनाव लड्छु ।’
आरजुको दाबीतर्फ संकेत गर्दै उनले लोकतन्त्रमा प्रधानमन्त्री र प्रधानमन्त्री पत्नी एउटै चुनाव लड्ने प्रचलन नरहेको प्रतिक्रिया दिएका छन् । तर आरजुबारे कुनै टिप्पणी गरेनन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले बोलाए जुनसुकै बेला पनि भेट्न तयार रहेको बताएको कांग्रेस सचिव सुनारले जानकारी दिए ।