बेलायतकी महारानी एलिजाबेथको निधन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । भदौ २४, बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको छ।
९६ वर्षीय महारानीको स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा निधन भएको बकिङ्गघम प्यालेसले एक विज्ञप्तिमा जनाएको हो।
दुई दिन पहिले मात्रै महारानीले बाल्मोरल दरबारमै लिज ट्रसलाई नयाँ ब्रिटिश प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी थिइन्।
बिहीबार बेलुका टेन डाउनिंग स्ट्रीट बाहिर उभिएर ट्रसले महारानीप्रति श्रद्धान्जलि व्यक्त गरिन्।
उनको ७० वर्ष लामो शासनकालमा बेलायतमा १५ जना प्रधानमंत्रीहरु नियुक्त भएका थिए।
१७ महिना अघि (अप्रिल २०२१) मा ९९ वर्षको उमेरमा उनका पति प्रिन्स फिलिपको निधन भएको थियो।
आफ्ना पति प्रिन्स फिलिपसंग महारानी एलिजाबेथ द्वितीयले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेकी थिइन्।
संसारभरिबाट समवेदना
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन्।
आफ्नो समवेदना संदेशमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, ‘एलिजाबेथ द्वितीय एकजना महारानी मात्र थिइनन्, उनले एउटा सिङ्गै युगलाई परिभाषित गरेकी थिइन्।’
४० वर्ष पहिले पहिलो पटक महारानीसंग आफ्नो भेट भएको स्मरण गर्दै राष्ट्रपति बाइडेनले उनी कसैसंग तुलना गर्न नमिल्ने एक राजनेता भएको जनाएका छन्।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुदोले क्यानेडेलीहरुले जहिले पनि महारानी एलिजाबेथ द्वितीयलाई एक जना दयालु र स्नेही राष्ट्राध्यक्षको रुपमा सम्झने बताए। क्यानडालगायत राष्ट्र मण्डलका १४ वटा सदस्य राष्ट्रहरुले ब्रिटिश राष्ट्राध्यक्षलाई आफ्नो पनि राष्ट्राध्यक्ष मान्दछन् ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले महारानी एलिजाबेथ द्वितीयको समर्पण र प्रतिबद्धताको प्रशंसा गरेका छन्।
भारतीय प्रधानमंत्री नरेन्द्र मोदीले आफूले सन् २०१५ र २०१८ मा महारानी एलिजाबेथ द्वितीयसंग भेट गरेको स्मरण गरेका छन्। ‘उहाँले आफ्नो मुलुक र जनतालाई एक प्रेरणादायी नेतृत्व प्रदान गर्नु भयो, ‘ मोदीले भने। उनले एउटा भेटमा महारानीले उनको विवाहको अवसरमा महात्मा गान्धीले उनलाई उपहार स्वरुप प्रदान गरेको रुमाल आफूलाई देखाएको पनि सम्झना गरे।