देउवाले खेलकुद विश्वविद्यालय खोल्नका लागि योजना गर्ने

काठमाडौं । भदौ ३१, प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री देउवाले युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गर्नुभएको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल खेलकुदप्रति धेरै नै अघि छ । हामीले अझै ख्याति कमाउन बाँकी नै छ । मन्त्रीज्यूले त मलाई खेलकुद विश्वविद्यालय खोल्नुपर्छ भन्नुभएको छ । हामी छिटै नै खेलकुद विश्वविद्यालय खोल्न लाग्नेछौँ ।
तर अहिले कोभिड लगायतका धेरै कारणले गर्दा राष्ट्रिय आर्थिक अवस्था राम्रो छैन । तर पनि सुरुवात गर्ने हाम्रो सोचाइ छ । त्यसले पनि खेलकुदमा भोलि युवाहरूको आकर्षण बढ्नेछ भन्ने विश्वास लिएको छु ।’
सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । झन्डै १० लाख रुपैयाँमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो ।
लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायीरूपमा ट्रफी आफूसँग राख्न पाउनेछ । नवौँ राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्याइनेछ ।