मानवअधिकार आयोगको टोली जबराको निवासमा पुग्यो

काठमाडौ । असोज २, राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासमा पुगेको जनाएको छ ।
जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरे ।
आयोगकी सदस्य लिली थापाका अनुसार जबरालाई नजरबन्दमा राखिएको समाचार आएपछि आयोगका सहसचिव डा. टीकाराम पोखरेलको नेतृत्वमा आयोगले अनुगमनका लागि टोली पठाएको जनाएको छ ।
थापाका अनुसार टोलीले सर्वोच्च र जबरा निवासमा पुगेर अनुगमन सुरु गरेको छ । अनुगमन टोली फर्किएपछि जबराको अवस्थाबारे आयोगले धारणा सार्वजनिक गर्ने पनि जनाएको छ ।
१ फागुन २०७८ मा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए । महाभियोगबारे निर्णय नगरी १ असोजको मध्यरातबाट प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सकिएपछि जबराले सर्वोच्चमा फर्किने भन्दै प्रशासनमा खबर पठाएका थिए ।