ताप्लेजुङ हेलिकप्टर दुर्घटनाको १६ वर्ष पुरा, निधन हुनेको स्मरण गर्दै आज राष्ट्रिय संरक्षण दिवस

काठमाडौ । असोज ७, ताप्लेजुङको घुन्सामा श्री एअरलाइन्सको हेलिकप्टर दुर्घटना भएको आज सोह्र वर्ष पूरा भएको छ । ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा डा. हर्क गुरुङ लगायत २४ जनाको निधन भएको थियो । यसैबीच हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुको योगदानको स्मरण गर्दै आज राष्ट्रिय संरक्षण दिवस मनाइँदै आएको छ।
२०६३ साल असोज ७ गते आजकै दिन दुर्घटनाको सम्झनामा आज ताप्लेजुङ सदरमुकाम, दुर्घटना भएको ठाउँ घुन्सामा स्मृति कार्यक्रम गरिँदैछ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रले संरक्षण क्षेत्रमा रहेका हरेक मठ, मन्दिर, गुम्बाहरुमा दीप प्रज्वलन गरिएको छ ।
दुर्घटनामा तत्कालीन वन तथा भूसंरक्षण राज्य मन्त्री गोपाल राई, उहाँकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेलको निधन भएको थियो ।
त्यस्तै विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा.चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका सदस्य विजय कुमार श्रेष्ठ, कञ्चनजङ्घा संरक्षण क्षेत्रका तत्कालीन अध्यक्ष दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो ।