हिउँ पग्लिन थालेपछि शवहरु देखिँदै, शव व्यवस्थापन गर्न सगरमाथामा आरोहीको माग

सहयात्रा टिभी

काठमाडौँ । असोज २६, सर्वोच्च शिखरको आरोहण सुरु भएयता तीन सयभन्दा धेरै आरोहीले सगरमाथामा ज्यान गुमाएका छन् । ज्यान गुमाएकामध्ये झण्डै दुई तिहाइको शव सगरमाथामै रहेको बताइन्छ ।

बरफ र हिउँमा पुरिएका शव पछिल्लो समय हिउँ पग्लिने क्रम बढेसँगै सतहमा देखिन थालेका छन् । आठ हजार मिटर भन्दा अग्ला विश्वका १४ वटै हिमालको दोहोर्याएर आरोहण गरेका कीर्तिमानी आरोही सानु शेर्पा हिमालमा शव देख्दा मन चसक्क हुने बताउनुहुन्छ ।

केही आरोहीहरुले भने,  शव देख्दा हाम्रो पनि अवस्था यस्तै भयो भने हाम्रा छोराछोरी तथा परिवार के गर्ला, विचरा यो मान्छेका परिवार के गर्दै होलान् भन्ने सोच आउने अनुभव बताए । मनलाई एकोहोरो बनाएर आरोहण गरिरहेको बेला शव देख्दा मन बहकिने सगरमाथा आरोहिको अनुभव रहेको बताए ।

चिनियाँ मोहोडातर्फका धेरै शव हटाइएको भएपनि नेपालतर्फ शव हिउँमै छन् । अघिल्लो वर्ष शव नदेखेको ठाउँमा पनि अर्को वर्ष हिउँ पग्लिएर शव देखिने गरेको आरोहीहरु बताउँछन् । यस्ता शव खुम्बु आइसफलदेखि माथि बाल्कोनीसम्म पनि देखिन्छ । चौँथो शिविर र आसपासमा धेरै शव रहेका छन् । खुम्बु हिमनदी चलायमान हुँदा त्यहाँ पनि शव देखिएका छन् ।

हिमालको माथिल्लो भागमा शव खोज्नु र तिनलाई त्यहाँबाट हटाउने काम कठिन र महँगो दुवै हुन्छ । सगरमाथा सरसफाइ अभियान संचालन गरी केही शव आधार शिविरमा ल्याएका आरोही एवम् अभियानकर्मी पीके शेर्पा महँगो पर्ने भएकैले धेरै शव उतै रोकिएका बताउनुहुन्छ ।

केही आरोहीहरुले भने हिमालमा ज्यान गएमा शव त्यतै छोड्नु भनेको भन्दै आफन्तले शव ल्याउन अस्वीकार पनि गर्ने गरेका छन् । धेरै चाहिँ चाहेर पनि भेटिएका छैन वा ल्याइएको छैन ।

जे कारण भए पनि हिमालमा शवको संख्या बढ्दै जानु हिमाल र त्यहाँ पुग्ने अरु आरोहीका लागि पनि जोखिमको कुरा भएकोले शव व्यवस्थापन गर्न सरकारसंग सगरमाथामा आरोहीको माग रहेका बताउँछन् ।

नेपाली सेनामार्फत संचालन भएको सरकारको हिमाल सफाइ अभियान अन्तर्गत केही शवको उद्धार भएको छ । तर अझै धेरै शव हिमालमै छन् । सरकारले चाहेमा शव खोज्न र तल झार्न सक्ने जनशक्ति नेपालमा रहेकोले हिमालमा रहेकामध्ये धेरैजसो शवहरु तल ल्याउन सम्भव पनि रहेको आरोहीहरु बताउँछन् ।

 

प्रकाशित : 12 October, 2022

प्रतिक्रिया दिनुहोस्