क्लबका बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ७ जना पक्राउ

काठमाडौं । असोज २७, दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरमाथि ‘योजनाबद्ध’ खुकुरी प्रहार गरिएको प्रहरीको अनुसन्धानबाट निष्कर्ष छ । मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर फर्किएका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ ।
डेरा जाँदै गरेका बाउन्सर नितेश राई र छिरिङ लामालाई ४ वटा मोटरसाइकलमा सवार ८ जनाले खुकुरी प्रहार गरेको एक प्रहरीले बताए । रामेछाप घर भएर रामहिटी बस्ने विकाश श्रेष्ठ समेतको टिमले असोज २५ मा बिहान क्लब अगाडिबाट बाउन्सरलाई फलो गरेका थिए ।
लैनचौरबाट अगाडि बढेपछि सोह्रखुट्टेको ओरालोमा कुरेर बसेका थप युवाहरु मिलेर आक्रमण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भदौ २३ मा क्लबमा बाउन्सरसँग भएको झगडाको कारण आक्रमण गरिएको आरोपीहरुले प्रहरीसँग स्वीकार गरेका छन् ।
घटनामा प्रयोग गरिएको दुई थान खुकुरी र दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार आरोपीहरुले चुच्चेपाटीको रिकण्डीशनबाट मोटरसाइकल भाडामा लगेर प्रयोग गरेका हुन् । कपनस्थित दावा लामाको डेराबाट खुकुरी बरामद गरिएको छ ।