धवन्तरी फर्निचर उद्योगमा आगलागी

काठमाडौं । असोज २८, मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी मार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट ४५ लाख रूपैयाँ बराबरको क्षति भएको जानकारी प्राप्त भएको छ ।
आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामानमा क्षति पुगेको छ । विद्युत् सर्ट भएर आगलागी भएको हो । दमकलको सहयोगमा आगो निभाइएको छ।
आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । आगो निभाउन तीन घण्टाभन्दा बढी समय लागेको थियो ।
उद्योगका सञ्चालक श्याम साहले आगलागीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको बताउनुभयो ।
विराटनगरमा रहेको वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले विराटनगर महानगरपालिकाका तीन, दुहबी नगरपालिकाको एउटा, रङ्गेली नगरपालिकाको एउटा र नेपाल आयल निगमको एउटा दमकल प्रयोग गरी आगो निभाइएको बताउनुभयो ।