रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौं । असोज ३०, वाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज (आइतबार) बिहान ७ बजेर ९ मिनेटमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।
जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
बाबु शंकरदास जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि.सं. १९७७ बैशाख ३० गते पाटनको बखुम्बहालमा उनको जन्म भएको थियो ।
नेपाली भाषा, कला, संस्कृतिको संरक्षण सम्बर्धन र विकासमा उल्लेख्य योगदान गरेबापत जोशी सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्टबाट सम्मानित भएका छन् । यस्तै, सरकारले पनि उज्जवल कीर्तिमान राष्ट्र दीपले उनलाई सम्मानित गरेको छ ।
जोशीले लोक संस्कृतिका लागि पहिलोपटक वि.सं. २०१३, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि २०१७ र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि संयुक्त रूपमा २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।
आदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित जोशीलाई काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ उपाधी दिएको छ । जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करीब ५० कृति प्रकाशित भएका छन् ।
उनी वि.सं. २०१५ मा पुरातत्व र संस्कृति विभागको पहिलो निर्देशकसमेत भएका थिए ।