फ्री भिसा फ्री टिकेट भन्दै रकम असुल्ने म्यानपावर प्रति विभागको ध्यानाकर्षण

काठमाडौं । असोज ३०, वैदेशिक रोजगारीको लागि मलेसिया तथा खाडीका देशमा जाने श्रमिकबाट म्यानपावरले पैसा असुल्ने गरेकोप्रति वैदेशिक रोजगार विभागको ध्यानाकर्षण भएको छ ।
यी देशहरुबाट कामदार माग भइ सम्बन्धित देशमा रहेको नेपाली कुटनीतिक नियोगबाट माग प्रमाणीकरण हुँदाकै बखत फ्री भिसा फ्री टिकेट लगायतका अन्य सेवा शुल्क रोजगारदाताले नै व्यहोर्ने भनी उल्लेख गरेको हुन्छ ।
त्यसरी माग प्रमाणीकरण गरेर सम्बन्धित इजाजतपत्रवाला संस्थाले छनौटका लागि वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिन्छन् । त्यसपछि पनि राष्ट्रिय स्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने हुन्छ ।
तर यी सबै प्रक्रिया गर्दा शून्य लागतमा कामदार छनौट गरिने भनेर खुलाइ विज्ञापन गरे पनि श्रमिकबाट लाखौँ रुपैयाँसम्म रकम असुल गर्ने, निष्पक्ष रुपमा छनौट गर्ने नगरेको भनि विभिन्न सञ्चार माध्यमबाट प्रकाशन र प्रशारण भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विभागले सूचना जारी गरेको छ ।
पूर्व स्वीकृति लिइ छनौटका लागि प्रकाशित गरिएको सूचनामा उल्लेखित शर्तहरुका आधारमा नै छनौट गर्न विभागले सूचित गरेको छ । यस्तो नगरेमा कानुनबमोजिम कारबाही हुने पनि विभागले जनाएको छ ।