फिल्म ‘महापुरुष’को प्रचार कार्यक्रममा किन ? रोइन् रचना रिमाल

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १, फिल्म ‘महापुरुष’ले सोमबार पोखरामा प्रचार कार्यक्रम राखेको थियो । स्थानीय हल्लनचोकमा हरिवंश आचार्यसहितका कलाकारले प्रस्तुति दिइरहेका थिए ।

कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, कमेडियन विकास अर्यालले पनि मनोरञ्जन दिइरहेका थिए । शोलाई रमाइलो तुल्याउन फिल्म टिमले कमेडियन र गायक-गायिकालाई पनि सँगै लगेको थियो ।

तर पोखरामा आयोजित शो भने भिन्न कारणले चर्चामा रह्यो । कमेडियन अर्यालले टिकटक सेलिब्रिटीलाई लक्षित गर्दै टिकटक चलाएर इज्जत बेचेको भनेर कटाक्ष गरे । उक्त कार्यक्रममा उनले रचनाले टिकटकबाट इज्जत बेचेको भन्दै व्यंग्य गरे ।

आफूलक्षित व्यंग्य सुनेपछि रचना रुँदै स्टेजबाट बाहिरिइन् । उक्त व्यंग्य आफूलाई चित्त नबुझेको र टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै रचना रुँदै बाहिरिएपछि रमाइलो माहोल एकाएक भावुक बनेको थियो । रचनाले सार्वजनिक रुपमै चित्त दुखाएपछि कमेडियन अर्यालले माफी मागेका थिए । रचनाको नाम लिएरै माफी मागेपछि कार्यक्रम अघि बढ्यो ।

पछिल्लो समय रचना टिकटकमा समेत सक्रिय सेलिब्रिटी हुन्, जहाँ उनी लाइभमा आउनेदेखि भिडियो पोस्ट समेत गर्छिन् । सोही कार्यक्रममा अभिनेता राजाराम पौडेलले पनि टिकटक अनुभव सुनाए । एक-दुई जनाले पैसा माग्न टिकटकमा आएको भनेपछि लाज लागेर आफूले लाइभ बस्नै छाडेको अनुभव उनले बाँडे ।

प्रकाशित : 18 October, 2022

प्रतिक्रिया दिनुहोस्