सूर्यग्रहणः स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ४, कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ । यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ।

कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ । दिउँसो ४ : ५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ । ग्रहणकै अवस्थामा साँझ ५ : २४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ । बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ । शास्त्रीय मान्यताअनुसार सोमबार बिहान ४ : ५२ बजेदेखि नै बाल, वृद्ध र आतुरबाहेकलाई भोजन निषेध हुने पनि समितिको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ ।

प्रकाशित : 21 October, 2022

प्रतिक्रिया दिनुहोस्