गरियो नरक चतुर्दशी स्नान, दीपदान (नरके बगाउने) पर्व

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ७, प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान मनाइएको छ ।

स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काइ बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामलेसमेत यो पर्व चिनिने गरेको छ ।

आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आजै कुकुरको पूजा गरी मीठा कुरा खान दिइँदै छ । आज बेलुकीपछि भने औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना पनि साँझ गरिँदै छ ।

कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकअर्थात् तिहारको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण नरक चतुर्दशी कुकुर तिहार तेस्रो दिन आज परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। बिहान अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने भएकाले आज बिहान यो पर्व मनाउने निर्णय गरिएको समितिले जनाएको छ ।

यस वर्ष कात्तिक ५ गते शनिबारदेखि यमपञ्चकअर्थात् तिहार पर्व सुरु भएको हो । दोस्रो दिन आइतबार काग तिहार र धनवन्तरी पर्व मनाइएको थियो । यो नेपालीको बडादसैँपछि दोस्रो ठूलो चाड हो । यसलाई उज्यालोको चाड पनि भनिन्छ । यमपञ्चक लागेसँगै सहर, बजार झिलीमिली बनेको छ ।

प्रकाशित : 24 October, 2022

प्रतिक्रिया दिनुहोस्