नवलपरासीमा बस दुर्घटना : पाँच जनाको मृत्यु, २५ घाइते

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १३, पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २८ जना घाइते भएका छन् ।

सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा रम्भा गाउँपालिका–१, हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षी देवी गाहा, स्याङजाको गल्याङ नगरपालिका–९ की ४५ वर्षीय फुलमाया विक रहेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल भीरमा अड्किएको छ । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरेर अस्पताल पठाएका छन् ।

दुर्घटनाका घाइतेलाई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवन पठाइएको छ । रामपुर यातायात प्रालिका दुई वटा बस मनकामना दर्शनका लागि शनिबार बेलुकी हुँगीबाट रिजर्भमा गएका थिए । त्यसमध्ये पछाडि गुडेको बस दुर्घटनामा परेको हो ।

प्रकाशित : 30 October, 2022

प्रतिक्रिया दिनुहोस्