स्वर्ण विजेता फुटबलर प्रिजेनलाई ब्लड क्यान्सर

काठमाडौँ । कात्तिक १४, साग १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका फुटबल खेलाडी प्रिजेन तामाङलाई ब्लड क्यान्सर देखिएको छ ।
दुई महिनाअघि क्यान्सर पत्ता लागेपछि ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालले भारत रेफर गरेको थियो । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा पहिलो चरणको किमो दिएपछि हाल उनी नेपाल फर्किएका छन् । अब दोस्रो चरणको किमो दिन फेरि भारत जानुपर्नेछ ।
प्रिजेनलाई दुई महिनाअघि ज्वरो आएको थियो । सुरुमा भाइरलको अनुमानमा सिटामोल खाँदा लामो समयसम्म निको नभएपछि नर्भिक अस्पतालमा उनको प्रारम्भिक उपचार भएको थियो । त्यहाँ रगतमा खरावी नदेखिएको रिपोर्ट आएको दिमसनले बताए ।
ज्वरो निको नभएपछि मोडल अस्पतालमा पुनः परीक्षण गरिएको थियो । बायोप्सी गर्दा रक्त क्यान्सरको पत्ता लागेको हो । मोडलबाट नेपाल क्यान्सर अस्पताल र त्यहाँबाट एपोलो अस्पतालमा रेफर भएपछि प्रिजेनको क्यान्सर उपचार सुरु भएको हो ।
अचानक क्यान्सर देखिँदा परिवारले अरु केहि सोच्नै सकेनन् । उपचारकै हतारो हुँदा फुटबलका सरोकार निकायले पनि प्रिजेनको स्वास्थ्यबारे ढिला जानकारी पाएका हुन् ।
सिन्धुपाल्चोक घर भएका प्रिजेन र उनका दाजु हाल जडिबुटीमा फुपुको घरमा बसेका छन् । एन्फा एकेडेमीका उत्पादन प्रिजेनले नेपालका लागि उमेर समूहको राष्ट्रिय टोलीहरु ९यू(१८, यू(१९, यू(२३०बाट खेलिसकेका छन् ।