अमेरिकालाई संयुक्त सैन्य अभ्यास बन्द गर्न उत्तर कोरियाको कडा चेतावनी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । कात्तिक १५, उत्तर कोरियाले अमेरिकालाई दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास बन्द नगरे कडा जवाफ दिने चेतावनी दिएको छ ।
आज मङ्गलवारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको पाँच दिने संयुक्त हवाई सैन्य अभ्यासप्रति आपत्ति जनाउँदै उत्तर कोरियाले कडा जवाफ दिने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
‘यदि अमेरिकाले लगातार गम्भीर सैन्य उत्तेजना जारी राख्यो भने उत्तर कोरियाले थप शक्तिशाली आणविक परिक्षणहरू गर्नेछ’, उत्तर कोरियाको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
अमेरिका र दक्षिण कोरियाले युद्ध अभ्यासहरू बन्द नगरेमा सबै नतिजाको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने उत्तर कोरियाको चेतावनी छ ।
दुई देशले सैन्य अभ्यास गर्ने योजना बनाएदेखि नै उत्तर कोरियाले पनि क्षेप्यास्त्रहरू परीक्षण गरिरहेको छ । यस्तै २०१७ पछि उसले पहिलो आणविक हतियार परीक्षणको तयारी गरिरहेको खुफिया एजेन्सीले दाबी गरेका छन् ।
अक्टोबरको सुरुमा अमेरिकाले आफ्नो आणविक शक्ति सञ्चालित अमेरिकी युद्ध विमानवाहक रोनाल्ड रेगनलाई कोरियाली प्रायद्वीप नजिक तैनाथ गरेपछि तनाव बढ्दै गएको छ ।