सन्दीपलाई तत्काल प्राप्त प्रमाणहरुको आधारमा निर्दोष मान्न नसकिने अदालतको आदेश

काठमाडौँ । कात्तिक १८,काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कार आरोप लागेका क्रिकेट सन्दीप लामिछानेलाई तत्काल प्राप्त प्रमाणहरुको आधारमा निर्दोष मान्न नसकिने ठहर गरेको छ ।
अदालतका न्यायाधीश माधव प्रसाद घिमिरेको इजलासले तत्काल प्राप्त प्रमाणहरुको आधारमा प्रतिवादी निर्दोष रहेछन् भन्ने मान्न नसकिने ठहर गर्दै लामिछानेलाई कारागार कार्यालय जगन्नाथदेवल पठाउन आदेश दिएको हो ।
अदालतले सीसीटीभी फुटेज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रतिवादीको बयान व्यहोराबीच अपसमा तादात्मयता रहेको तथ्य देखिएको जनाएको छ । यस्तै होस्टलमा बस्ने पीडितले आफ्नो बारेमा होस्टललाई कुनै जानकारी नदिइ बाहिर गएको देखिएको पनि अदालतको आदेशमा निष्कर्ष निकालिएको छ ।
यसतर्फ सन्दीपले सोको कुनै जानकारी नगराएको र प्रतिवादीले घटनाको भोलिपल्ट अन्तर्राष्ट्रियस्तरमा क्रिकेट खेल्न जाँदै गर्दाको आफ्नो गहन जिम्मेवारीलाई नहेरी, पब्लिक स्टाटसलाई समेत ख्याल गर्नुपर्नेमा ध्यान नदिएको देखिएको अदालतको भनाइ छ ।