घरजग्गाको कित्ताकाट तीन महिनामा ८६.२४ प्रतिशतले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २२, भू–उपयोग नियमावली र घरजग्गा कारोबार घट्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको छ ।

गत आर्थिक वर्ष २०७८र०७९को श्रावणरभदौ र असोज महिनादेखि चालु आर्थिक वर्ष २०७९र०८०को सोही तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७८र०७९ को श्रावण, भदौ र असोज महिनामा ४ लाख ४१ हजार ७७० भएको कित्ताकाट आर्थिक वर्ष २०७९र०८० को सोही तीन महिनामा ५६ हजार ३६० कित्ताकाट भएको विभागले बताएको छ । घरजग्गाको कित्ताकाटमा भू–उपयोग नियमावली लागू भएसँगै सहरी क्षेत्र र बाहिर जिल्लाहरूमा समेत जग्गाको कित्ताकाट घट्दै गएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका सूचना अधिकारी विष्णुकुमार महतले भू–उपयोग नियमावली अनुसार स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कारोबार तथा कित्ताकाटमा कमी आएको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले चालु आर्थिक वर्षको तीन महिनामा गत आर्थिक वर्षको तुलनामा घरजग्गाको कित्ताकाट, कारोबार र राजश्व सङ्कलनमा समेत कमी आएको स्वीकार गरे ।

उनले भने,‘भू–उपयोग नियमावली जारी भएसँगै स्थानीय तहहरूलाई जग्गाको कित्ताकाट गर्ने जिम्मा दिइएको छ । भू–उपयोग परिषद्ले जग्गाको वर्गीकरण पछि मात्रै जग्गाको कित्ताकाट गर्नुपर्ने व्यवस्था नियमावलीमा छ । अहिले सबै स्थानीय तहहरूले जग्गाको भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरिनसकेको अवस्था छ ।

त्यसकारण घरजग्गा कारोबारमा कमी आएको देखिन्छ । मालपोत कार्यालयहरूमा भएको जग्गाको कारोबारको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा कित्ताकाट,कारोबार र राजश्व सङ्कलन समेत कमी रहेको छ ।

सरकारले जारी गरेको भू–उपयोग नियमावली अनुसार घरजग्गा कित्ताकाटमा काठमाडौँ उपत्यकामा आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई न्यूनतम ४ आना १ दाम (१३० वर्ग मिटर )भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न रोक लगाएको छ ।

 

 

प्रकाशित : 8 November, 2022

प्रतिक्रिया दिनुहोस्