कतारको नेपाली दूतावासले विश्वकप सफल बनाउन नेपालीसमक्ष अपिल
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौ । कातिक ३०, कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ सफल बनाउन त्यहाँ रहेको नेपाली दूतावासले नेपाली समुदायसँग अपिल गरेको जानकारी प्राप्त भएको छ।
कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कतारमा क्रियाशील नेपाली समुदाय तथा सङ्घसंस्थाहरूलाई पनि सम्भव भएसम्म विश्वकपको समयमा कुनै पनि कार्यक्रम नगर्न र विश्वकप सफल बनाउन इमानदारिताका साथ सहयोग गर्न अपिल गर्नुभएको हो ।
विज्ञप्ति जारी गर्दै राजदूत ढकालले भन्नुभएको छ ‘नेपाली समुदाय तथा सङ्घसंस्थाहरूले सम्पादन गर्नु पर्ने कुनै कार्यक्रम भएमा सम्भव भएसम्म स्थगित गरी इमानदारिता, नैतिकता र उच्च मर्यादासहित फिफा विश्वकप सफल बनाउनका लागि जिम्मेवारीपूर्ण सहयोग गर्नु–गराउनु हुनेछ भन्ने विश्वास लिइएको छ ।’
दूतावासका अनुसार नेपालीहरूले कतारको विकास तथा समृद्धिका लागि पुर्याएको योगदानको कतार सरकारका उच्च अधिकारीले प्रशंसा गरेका छन् । विश्वकप प्रतियोगिता भएकाले पनि यति बेला संसारको ध्यान कतार केन्द्रित भएको छ ।
विश्वकप फुटबलका लागि संरचना बनाउन हजारौँ श्रमिकले काम गरेका थिए । कतार र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ४५ वर्ष पूरा भइसकेको छ ।
विश्वकप यही नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुँदै छ ।