आज विश्वकप समूह एचको खेलमा दक्षिण कोरिया र घाना भिड्दै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । मंसिर १२, कतारमा जारी फिफा विश्वकप अन्तर्गत सोमबार समूह एचमा रहेका दक्षिण कोरिया र घाना भिड्दैछन् । यो खेल साँझ पौने ७ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ ।
समूहचरणको पहिलो खेलमा दक्षिण कोरियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको थियो । घाना भने रोमाञ्चक खेलमा पोर्चुगलसँग ३-२ ले पराजित भएको थियो । दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन् ।
घानालाई नकआउट चरण पुग्ने सम्भावना कायम राख्न पनि जित आवश्यक छ । पहिलो चरणमा अफ्रिकाका पाँच वटै राष्ट्रले जित निकाल्न सकेका थिएनन् । दोस्रो चरणमा सेनेगलले आयोजक कतार र मोरक्कोले बेल्जियमलाई पराजित गरिसकेको छ । घाना पनि अफ्रिकन टिमको त्यो लयलाई निरन्तरता दिन चाहन्छ ।
ट्युनिसिया भने दोस्रो चरणमा अष्ट्रेलियासँग पराजित भइसकेको छ । अर्को अफ्रिकन राष्ट्र क्यामरुनले सोमबारै सर्बियासँग खेल्दैछ ।