जिल्ला अदालतको फैसला विवाहित छोरीले समेत अंश पाउने
काठमाडौं । मंसिर १६, विवाह भइसकेकी छोरीले बाबुआमा वा अंशियारसँग अंशको मागदाबी गरिन् भने त्यस्ता छोरीलाई अंश दिनु पर्ला कि नपर्ला ? सामान्य रुपमा हेर्दा र सामाजिक रीतिथितिले ‘पर्दैन’ नै भन्ला ।
तर यस्तै अंश मुद्दामा नवलपुर जिल्ला अदालतले विवाहित भए पनि छोरीलाई समेत अंश दिनुपर्ने फैसला गरेको छ ।नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अंश विवादमा विवाह भइसकेकी छोरीले समेत अंश पाउने फैसला सुनाएको छ ।
फैसलामा अंश पाउने हकदार वंशमात्रै रहने र वंश भनेको छोरा नै हुनुपर्ने भन्ने पितृसत्तात्मक सोचमात्रै रहेको ठहर गरिएको छ ।
आफ्ना बुबा र आमाको मृत्यु भएपछि भारतमै रहेका दुई छोरीलाई अंश नदिई आफ्नै बुबाको नाममा रहेको जग्गाजमिन समेत हजुरआमाले अंशियार नरहेको भनी झूठो दाबी लिइ आफ्नो नाममा बनाएको भन्दै नवलपुर जिल्ला अदालतमा परेको मुद्दामा अदालतले विवाह भए पनि वा नभए पनि छोरीहरुले समेत अंश पाउने गरी फैसला सुनाएको हो ।
२०७५ साल फागुन १२ गते नवलपुर जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दामा ४ वर्षपछि २०७९ भदौ २७ गते न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले फैसला सुनाउँदै विवाह भए पनि छोरीहरुलाई समेत अंश दिनुपर्ने ठहर गरेको हो ।