सन्तोष सेनविरुद्धको उजुरी चलचित्र निर्माता संघले गर्यो खारेज

काठमाडौं । मंसिर १६, चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेनविरुद्ध दर्ता भएको डिजिटल अधिकार उल्लंघनविरुद्धको उजुरीलाई खारेज गर्ने निर्णय गरेको छ ।
निर्माता सेनले आफूहरुबीच भएको सम्झौता उल्लंघन गरेको भन्दै ४ करोड ८४ लाख रुपैयाँ ‘लगानी रकम फिर्ता गराइपाउँ’ भन्दै गत आइतबार भारतको सिक्किम निवासी रामगोपाल राईले संघमा निवेदन दिएका थिए ।
निवेदन दर्ता भएपछि संघले दुवै पक्षलाई शुक्रबार दिउँसो २ बजे छलफलमा बोलाएको थियो । निर्माता सेन उपस्थित भए पनि निवेदक राई भने उपस्थित भएनन् ।
छलफलमा बोलाउँदा पनि निवेदक नआएको र निर्माता सेनले उक्त सम्झौता सन् २०२१ डिसेम्बरमै खारेज भइसकेको कागजपत्र पेस गरेकाले निवेदनलाई अघि नबढाउने निर्णय भएको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए ।