कतारकोमा विश्वकपका पाहुनालाई खाना चखाउँदै पोखराका विनोद बराल
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । मंसिर २३, यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरु आ-आफ्नै तयारीमा जुटेका छन् ।
सबैलाई यतिबेला खेलको रोमाञ्चक क्षणको व्यस्तताले भुलाएको छ । तीमध्ये सबैभन्दा बढी व्यस्त देखिन्छन्, कतारको एउटा सेन्टर किचेनमा बसेर कुन खेल हेर्न कुन स्टेडियममा को-को अति विशिष्ठ पाहुनाको आगमन हुन्छ र उनीहरुलाई के खुवाएर स्वागत गर्ने भन्ने जिम्मा पाएका विनोद बराल ।
५५० जना भान्सेसहित एक हजार एकसय जना कर्मचारीको नेतृत्व लिएर विनोदले यो विश्वकप सुरु भएदेखि नै विभिन्न विशिष्ठ व्यक्तित्वहरूलाई उनीहरूको मन पर्ने खाना खुवाइसकेका छन् ।
जसरी फुटबल फाइनल खेलसम्मका लागि संसार तातिरहने छ र अति विशिष्ठ पाहुनाहरूको आगमन बढ्दै जानेछ, त्यस्तै विनोदले नेतृत्व गरेको किचेनको व्यस्तता पनि बढ्दै गएको छ ।
विश्वकप फुटबललाई पहिलोपटक आयोजना गर्ने अवसर पाएको खाडी मुलुक कतारले यो मौकालाई फुटबलमा मात्र सीमित गरेको छैन । कतारले यो प्रतियोगितालाई आफ्नो संस्कृति र खानालाई संसारभरि फैलाउने अवसरका रूपमा पनि लिएको छ । कतारको त्यो सपनालाई पूरा गराउन विशिष्ठ पाहुनाहरूलाई उत्कृष्ट खाना खुवाएर सहयोग गरिरहेका छन् उनै एक नेपाली विनोद ।
लण्डनमा कार्यरत नेपाली सेफ र खाद्य अनुसन्धानकर्ता विनोदले नेतृत्व गरेका टोलीले विश्वकपको अहिलेसम्मको खेलमा टर्कीका राष्ट्रपति रिसेप तैयब उर्दवान, प्रसिद्ध अमेरिकी अभिनेता मर्गन फ्रिम्यानदेखि फुटबलका बेताज बादशाह डेभिड वेकमसम्मलाई खाना खुवाई सकेको छ । यो टोलीले आगामी पुस ३ गते हुने फाइनल खेलसम्म अनेकन विशिष्ठ तथा अति विशिष्ठ व्यक्तित्वहरूलाई खाना खुवाउने छ ।