विराटनगरले खेतीयोग्य जग्गालाई पनि आवास क्षेत्रको रूपमा घोषणा

काठमाडौं । मंसिर २६, विराटनगर महानगरपालिकाले खेतीयोग्य जग्गा भएको क्षेत्रलाई पनि आवासको रूपमा परिभाषीत गरेको छ ।
मङ्सिर २१ गते राजपत्रमा प्रकाशित गरेको भू–उपयोग (पहिलो संशोधन) कार्यविधि, २०७९ मा विराटनगर महानगरपालिकाको १९ वटा वडामध्ये १४, १६ र १८ नम्बर वडाको केही क्षेत्रबाहेक अन्य सबै वडालाई आवास क्षेत्र घोषणा गरेको हो ।
महानगरपालिकाले यो कार्यविधि पारित गरेसँगै अब जग्गाको कित्ताकाट खुल्नेछ । नापी कार्यालय विराटनगर मोरङका प्रमुख सुदीप श्रेष्ठले जग्गाको वर्गीकरण गरेर कार्यविधि पारित भएसँगै सिफारिसको माग भएबमोजिम आफूहरूले कित्ताकाट खोल्न दिने बताए ।
‘महानगरपालिकाले पनि हामीसमक्ष सिफारिस माग भएको छ, सोही अनुसार गर्छौँ,’ उनले भने । यता, विराटनगर महानगरपालिका आफैँले वेबसाइटमा राखेको भूउपयोग क्षेत्रको नक्सामा भने वडा नम्बर ४, ५, ११, १२, १४, १६, १८ र १९ नम्बर वडामा खेतीयोग्य जग्गा पर्याप्त देखाइएको छ ।
विराटनगर महानगरपालिकामा रहेको जग्गामध्ये सबैभन्दा धेरै ४७ दशमलव ४५ प्रतिशत जग्गा कृषि योग्य रहेको छ भने २७ दशमलव ५९ प्रतिशत जग्गा बस्ती क्षेत्र देखाइएको छ ।
भू–उपयोग नियमावली जारी भएपछि नापी विभागले गत जेठ २३ गते मातहतका कार्यालयहरूमा निर्देशन जारी गरी ६ महिनाभित्र स्थानीय तहले जग्गालाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गरेर कित्ताकाट गर्न सक्ने अल्पकालीन व्यवस्था गरेको थियो । मङ्सिर २३ गते आइतबारबाट उक्त समय सकिएको छ ।
यही बेला विराटनगर महानगरपालिकाले सिफारिस गरेको भूउपयोग कार्यविधि निर्माणमा भने जग्गा प्लटिङ गरेर पैसा कमाउनेहरूको प्रभाव देखिएको कतिपयले बताउने गरेका छन् ।