कर्णालीमा ५२ प्रतिशत बालविवाह

कर्णाली । पुस ४, सुत्केरी हुन नसकेर आर्थिक वर्ष २०७८/०७९ मा १७ मृत्यु भएकामध्ये २० वर्ष मुनिका पाँचजना रहेका छन् । यो आँकडाले कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने गरेको देखाउँछ ।
बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको र कर्णालीको मातृ मृत्युको तथ्यांक हेर्ने हो भने डरलाग्दो रहेको महिला अधिकार मञ्च जाजरकोटका संयोजक आशा सिंहले बताइन् । शारीरिक र मानसिक रूपमा परिपक्व नभई कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी आउन नसकेको उनको भनाइ छ ।
बच्चा जन्माउन नसकेको अवस्थामा ज्यान नै जाने घटना धेरै रहे पनि सबै सार्वजनिक नहुने गरेको पाइएको छ । बच्चा जन्माउन सफल भएका कतिपय आमाको पछि पाठेघर खस्ने, अन्य शारीरिक समस्या देखापर्ने गरेको सिंहले बताइन् । कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाउने व्यवस्था गरेको छ ।
यसलाई रोक्न सरकारी तथा गैरसरकारी संस्थाबाट अभियान सञ्चालन भए पनि बालविवाह न्यूनीकरण हुन सकेको छैन । कर्णालीमा ५२ प्रतिशत बालविवाह हुने गरेको सरकारी तथ्यांक छ । गरिबी, अशिक्षा र पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बालविवाह बढ्दो छ । जनचेतनामूलक कार्यक्रम भइरहे पनि अपेक्षित रूपमा बालविवाह न्यूनीकरण हुन सकेको छैन ।
उमेर नपुग्दै बालविवाह गरेको पाइए अभिभावकलाई राखेर सम्झाइ बुझाइ गरेर बिहे रद्द गर्ने गरिए पनि लुकिछिपी बालविवाह भइरहेको बताइन्छ । पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा कलिलो उमेरमा आमा हुनेको संख्ययामा कमी आउन नसकेको पाइएको छ । २०७६ यता कर्णालीमा गर्भवती हुनेको तथ्यांकअनुसार १६ हजार ७ सय १ जना २० वर्षमुनिका छन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा पाँच हजार ३ सय २८ जना २० जना, २०७७/०७८ मा छ हजार २० जना र २०७८/०७९ पाँच हजार ३ सय ५३ जना २० वर्षमुनिका छन् । कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा आमा र बच्चा दुवैको ज्यान जोखिममा छ ।
समाजमा बालविवाह भए पनि अधिकांश जात मिल्नेसँग भएमा चुपचाप लाग्ने र फरक जात हुने बित्तिकै प्रहरीसम्म पुग्ने गरेको पाइन्छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा २० वटा, २०७८/०७९ मा ११, २०७९÷०८० मा छवटा उजुरी बालविवाह दर्ता भएका छन् । बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउने तयारी थालेको बताइएको छ ।
बालविवाह न्यूनीकरण गर्न प्रदेश सरकारले ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ लगायत छात्रवृत्तिलगायतका सचेतनाका कार्यक्रम सञ्चालन ल्याएको छ । आर्थिक समस्यादेखि बढ्दो पाविधिको दुरुपयोगका कारण बालविवाह बढी हुने गरेको पाइएको छ ।
परिवारका गलत संस्कार र बालबालिकाको निगरानी नहुँदा पनि बालविवाह बढेको सरोकारवालाको भनाइ छ । पहिलेपहिले सूचनाको पहुँच सबै ठाउँमा नहुँदा बालविवाह भए पनि थाहा नहुने र अहिले सबै ठाउँमा पहुँच बढेसँगै सबै कुरा थाहा हुने गरेको नागरिक अगुवा तथा बालविवाह न्यूनीकरण अभियान्ताका अभियान्ता राजेन्द्रविक्रम शाहले बताए ।