राष्ट्रिय पक्षी डाँफेको सिकारले लोप हुने खतरा बढ्यो

सहयात्रा टिभी

काठमाडौं । पुस ७, बझाङमा डाँफे, कालिज, लाटोकोसेरो लगायतका पक्षी तथा जङ्गली जनावरको चोरी सिकार बढ्न थालेको छ । यसरी मासुका लागि सिकार गर्दा राष्ट्रिय पक्षी डाँफे भने लोप हुने अवस्थामा पुगेको छ।

बझाङको साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, तल्कोट गाउँपालिका, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिकाका विभिन्न वडाहरुमा चोरी सिकार बढेको हो ।

सुर्मा, दौलिचौर, रिलु, दहबगर, लेकगाउँ, मेलविसौना, सुनिकोट, कैलाश लगायतका वनक्षेत्रमा भरुवा बन्दुक प्रयोग गरेर र पासो थापेर दैनिक ८ देखि १० वटासम्म डाँफे, कालिज तथा दैनिक १र२ वटाका दरले झारल, बँदेल, घोरल, रतुवा लगायतका जनावर मार्ने गरेको पाइएको छ ।

स्थानीय बजारमा राम्रो दाम र माग भएकाले पक्षी डाँफे, कालिज लगायत जङ्गली जनावर मार्ने क्रम दिनानुदिन बढदै गएको हो ।

सदरमुकाम लगायतका आसपासका क्षेत्रमा एउटा डाँफे ३ हजार रुपैयाँसम्म बिक्री हुने गरेको पाइएको छ । १ हजार ५ सयदेखि १८ सयसम्म गाउँमै बेच्ने गरेको पाइएको छ ।

यस्तै, जङ्गली जनावर झारल, नाउर, रतुवाको मासु प्रतिकेजी १ हजार रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म बिक्री हुने गरेको बताइन्छ । कालिज १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

यहाँ उपहार स्वरुप डाँफे, कालिज लगायत पक्षी तथा जङ्गली जनावरको मासु खुवाउने चलन रहेको स्थानीय बताउँछन् । सिकार बढ्दै गएपछि प्रशस्त भेटिने डाँफे, कालिज तथा जङ्गली जनावर आज भोलि मुस्किलले भेटिने गरेका छन् । राष्ट्रिय पक्षी डाँफे लोप हुने अवस्था आउँदा समेत संरक्षणमा स्थानीय सरकारले चासो देखाएको छैन ।

सिकारीहरुले चैनपुरका होटल र पसलमा जङ्गली जनावरको मासु तथा पक्षी ल्याउने र व्यापारीहरुले फाइदा खाएर बिक्री गर्ने गरेको स्थानीय बताउँछन् । जाडो मौसममा सिकार झनै बढ्ने गरेको उनीहरुको भनाइ छ ।

गाउँ नजिकै जंगल रहेकाले सिकार खेल्ने समूह नै भरुवा बन्दुक लिएर जाने गरेका स्थानीयले बताएका छन् । रातिको समयमा बन्दुक पड्किएका आवाज आउने गरेको भए पनि गाउँपालिका, प्रहरी प्रशासन लगायत सम्बन्धित निकायले चासो नदेखाउँदा चोरी सिकार नियन्त्रणमा आउन नसकेको उनीहरुको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयका निमित्त कार्यालय प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद बहादुर चनले यस विषयमा अहिलेसम्म कुनै ठाउँबाट उजुरी नआएको बताउनु भयो ।

डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्णबहादुर खातीले भने चोरी सिकार नियन्त्रणका लागि गस्ती खटाउने र सञ्चार माध्यममा प्रचारप्रसार गर्ने निर्णय भएको बताउनु भयो ।

यस्तै, जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख इन्स्पेक्टर रमेश अवस्थीले चोरी सिकार भए गोप्य सूचनामार्फत् जानकारी गराउन नागरिकलाई अनुरोध गर्नुभएको छ । सूचना दिने व्यक्तिको नाम गोप्य राखेर संलग्नलाई कारबाहीको प्रक्रियामा ल्याइने उहाँले बताउनु भयो ।

 

प्रकाशित : 22 December, 2022

प्रतिक्रिया दिनुहोस्