पेन्सिलको बोक्राले लियो ६ वर्षीया बालिकाको ज्यान
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सि । पुस ११, एक कक्षामा पढ्ने ६ वर्षीया बालिकाको घाँटीमा पेन्सिलको बोक्रा फसेका कारण मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको हमिरपुर जिल्लाकी ती बालिका पेन्सिलको बोक्राका कारण सास रोकिएपछि उनको ज्यान गएको हो ।
ती बालिकाले कटरलाई दाँतले टोकेर पेन्सिल ताछिरहेकी थिइन् । त्यहि क्रममा पेन्सिलको बोक्रा घाँटीमा फस्दा उनको सास रोकिन थाल्यो । परिवारका सदस्यले तत्काल अस्पताल पुर्याउँदा पनि उनको ज्यान जोगाउन सकिएन ।
कोतवाली क्षेत्रमा बस्ने नन्दकिशोरले बुधबार बेलुका उनका छोरा अभिषेक (१२) र छोरीहरु अंशिका (८) र अर्तिका (६) छतमा पढिरहेका बेला यस्तो घटना भएको जानकारी दिए ।
मृत बालिका गाउँकै प्राथमिक विद्यालयमा कक्षा एकमा अध्ययन गरिरहेकी थिइन् । परिवारले उनको शवलाई पोस्टमार्टम गर्न अस्वीकार गरेको छ ।
यस घटनाबारे डाक्टर सत्येन्द्र कुमार यादवले बालबालिकाको क्रियाकलापमा निगरानी गर्ने हो भने यस्ता दुर्घटनाबाट जोगाउन सकिने बताए ।
उनले बालबालिकालाई सुताएर खाना खुवाउन र पानी पिउनबाट पनि रोक्नुपर्ने बताएका छन् । यस्तो गर्दा सास नलीमा खाना वा पानी गएर अड्किएर उनीहरुको ज्यानसमेत जान सक्ने उनले चेतावनी दिएका छन् ।