प्रिमियर लिगमा वेष्टहममाथि आर्सनलको पुनरागमन जित
काठमाडौं । पुस १२, मिडसिजन ब्रेकपछि फेरी सुरु भएको प्रिमियर लिगमा आर्सनलले वेष्टहममाथि पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा अग्रता फराकिलो बनाएको छ ।
साइद बेनराहमाले २७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै वेष्टहमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा आर्सनलले पुनरागमन गर्यो । ५३ औं मिनेटमा बुकायो साकाले आर्सनललाका लागि बराबरी गोल फर्काए ।
त्यसको पाँच मिनेटपछि नै गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । आर्सनलका लागि एडवार्ड एनकेतिहले ६९औं मिनेटमा तेस्रो गोल गरे ।
सोमबार राति भएको खेलमा आर्सनलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै वेष्टहमलाई ३–१ ले पराजित गरेको हो । जितपछि आर्सनलले १५ खेलबाट ४० अंक जोडेको छ र दोस्रो स्थानको न्युकासल युनाइटेडमाथि ७ अंकको अग्रता बनाएको छ ।
सोमबारै भएको खेलमा लेस्टर सिटीलाई ३–० ले पराजित गर्दै न्युकासल दोस्रो स्थानमा उक्लेको हो । न्युकासलको १६ खेलबाट ३३ अंक छ । न्युकासलका लागि क्रिस उड, मिगुएल अल्मिरोन र जोएलिन्टोनले गोल गरे ।