१८ वर्षपछि भद्रपुरमा गोल्डकप हुँदै

सहयात्रा टिभी

झापा । पुस १८, झापाको भद्रपुरमा आयोजना हुने त्रिभुवन स्मृति गोल्डकप प्रतिष्ठित फुटबल प्रतियोगिता हो । चार दशकअघि सुरु भएको गोल्डकप ०६१ यता सञ्चालनमा आउन सकेको छैन । ०६२÷६३ पछि परिवर्तित राजनीतिक परिवेशसँगै त्रिभुवन गोल्डकप पनि स्थगित भयो । त्यसयता भद्रपुरमा ठूलो गोल्डकप हुन सकेको थिएन । यसबीचमा गोल्डकप आयोजनाका लागि प्रयास नभएको हैन । तर, विभिन्न प्रयास हुँदा पनि गोल्डकप आयोजना हुनैसकेन । अब १८ वर्षपछि भद्रपुरमा ठूलो गोल्डकप आयोजना हुने भएको छ । यद्यपि, यो प्रतिष्ठित त्रिभुवन गोल्डकपको निरन्तरता भने होइन ।

यसपटक भद्रपुर–झापा गोल्डकपको नाममा फुटबल प्रतियोगिता हुने आयोजक समिति अध्यक्ष दीपेश ढकालले जानकारी दिएका छन् । ‘त्रिभुवन गोल्डकपपछि भद्रपुरमा ठूला गोल्डकप आयोजना हुनै छाडे । हामीले बीचमा पटक–पटक गोल्डकपका लागि पहल पनि ग¥यौँ,’ ढकालले भने, ‘०७२ मा गर्ने तयारी थियो, तर भूकम्पले रोक्यो । त्यसपछि कोरोनाले रोक्यो ।’ डेढ दशकपछि गोल्डकप आयोजना गर्न कस्सिएको आयोजकलाई आर्थिक चुनौती यथावत् छ । ‘तर, हामी गोल्डकप गर्छौं । यद्यपि, यो गोल्डकप त्रिभुवन गोल्डकपको निरन्तरता हैन । नितान्त नयाँ गोल्डकप हो, १८ वर्षपछि भएका कारण पनि त्रिभुवन गोल्डकपलाई निरन्तरता दिएनौँ,’ ढकालले भने ।

झापावासीको अपनत्व हुने

समग्र झापावासीकै अपनत्व हुने गरी भद्रपुर–झापा गोल्डकप नाम राखिएको उनले बताए । प्रतियोगिता फागुन अन्तिम साता गर्ने आयोजकको तयारी छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने खेल तालिका दिएको छैन । ‘हामीले फागुन २४ देखि प्रतियोगिताको तयारी गरेका छौँ । एन्फाले तालिका दिएको छैन,’ उनले भने, ‘एन्फा अध्यक्षसँग कुरा भइरहेको छ । उहाँले जसरी पनि मिलाउँछु भन्नुभएको छ । दुई वा चार दिन तलमाथि होला । तर, मिति आउँछ ।’

भद्रपुर–झापा गोल्डकप जीर्ण रहेको मेची रंगशालालाई ब्युँताउने प्रयास भएको अध्यक्ष ढकाल बताउँछन् । १८ वर्षदेखि ठूला प्रतियोगिता नहुँदा भद्रपुरस्थित मेची रंगशाला जीर्ण छ । रंगशालाका संरचनामा रंगरोगन नहुँदा पुरानो र जीर्ण देखिन्छ । यसपटक मेची रंगशाला प्यारापिटसहितको व्यवस्थित छ । ‘फुटबल प्रतियोगिता नहुँदा मेची रंगशाला कोमामा गएको जस्तो अनुभव हुन्छ । यसलाई ब्युँताउन पनि प्रतियोगिता आयोजना गर्न लागेका हौँ,’ उनले भने, ‘अहिले हामी रंगशालामा झार उमार्ने, रोलर लगाउने काम गर्दै छौँ । अब रंगरोगन गरेर रंगशालालाई चिटिक्क पार्छौं । प्रतियोगितापछि सरकारसँग पनि रंगशालाको जीर्णोद्धारका लागि पहल गर्छौं ।’ उनले गोल्डकपमा उठेको रकमले मेची रंगशालाको प्यारापिट निर्माणलगायतको काम पनि गरिने बताए । मेची रंगशालामा १५ हजार दर्शक अँट्ने क्षमता रहेको उनको भनाइ छ ।

अन्योलमा झापा गोल्डकप

झापाको ठूला गोल्डकपमध्ये एक हो, झापा गोल्डकप । झापा गोल्डकप पाँचपटक भइसकेको छ । झापा गोल्डकप मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको नाममा दर्ज छ । यसपटक भद्रपुर–झापा गोल्डकप हुने भएपछि बिर्तामोडमा आयोजना हुँदै आएको झापा गोल्डकप अन्योलमा परेको छ । झापा गोल्डकप आयोजक समिति यस वर्ष गोल्डकप नगरेर भद्रपुर गोल्डकपलाई सहयोग गर्ने रणनीतिमा पुगेको छ । यद्यपि, गोल्डकप गर्ने÷नगर्ने कुनै निर्णय नभएको झापा गोल्डकप अध्यक्ष विनोद बस्नेतले बताए ।

प्रकाशित : 2 January, 2023

प्रतिक्रिया दिनुहोस्