केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोलुङ्ग हाइड्रोपावरको आइपिओ खुल्यो

सहयात्रा टिभी

ओखलढुङ्गा । पुस १९, मोलुङ्ग हाइड्रोपावरले आज (मंगलबार) देखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशत १० प्रतिशत अर्थात् ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको हो।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहका नेपालीहरूका लागि २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर निष्कासन गरेको बताएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरिने सेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरूमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ। बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरूमा बाँडफाँट गरिनेछ। उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आइपिओमा माघ ३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा उक्त सेयरमा पूर्ण आवेदन नपरेमा स्थानीयले भने माघ १८ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी–आस्बा प्रणालीमार्फत स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेको नेपालीहरूले आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

प्रकाशित : 3 January, 2023

प्रतिक्रिया दिनुहोस्