भारतीय कम्पनी सेभेन थ्रीसँग सम्झौता रद्ध गर्ने क्यान अध्यक्षको घोषणा

काठमाडौं । पुस २०, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्ध गर्ने बताएका छन् ।
सेभेन थ्री स्पोर्टसका मालिक ज‘तिन अहुवालिया सोमबार भारत गएका थिए । भारतबाट सुरक्षा चुनौतीका कारण नेपाल बस्न नसकेको भन्दै बहानाबाजी गरेको चन्दको आरोप छ । ‘उनले एम्बेसीमा पनि उजुरी गरेका रहेछन् ।
एम्बेसीले फोन गरेको थियो । तर, हामीले के भन्यौं भने उनको सुरक्षाको सम्पूर्ण जिम्मा हामीले लिन्थ्यौं । प्रहरीलाई खबर गर्न सक्थे । उनको यो सबै भाग्ने बहानाबाजी मात्र हो’ चन्दले भने ।
नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० लिग सञ्चालनको विषय साधारणसभाबाट पारित गरी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको थियो । ८ वर्षका लागि व्यापारिक र रणनीतिक साझेदार बनेबापत उसले कुल ३३ करोड रुपैयाँ क्यानलाई बुझाउनुपर्ने थियो ।
पहिलो वर्ष ३ करोड ९० लाख बुझाउनुपर्नेमा १ करोड २० लाख दिइसकेको अध्यक्ष चन्दले बताए । बाँकी रकम जसरी पनि ल्याइने उनको दावी छ ।
फिक्सिङलाई बहाना बनाएर त्रिवि मैदानमा जारी नेपाल टी–२० लिग रोक्ने र १५ दिनपछि दुवईमा आयोजना गर्ने जतिनको प्रस्ताव आफूहरुले अस्वीकार गरेकोसमेत अध्यक्ष चन्दले बताए । ‘उसले भाग्नका लागि अनेक बहाना बनाउन लाग्यो ।
प्रतियोगितालाई बाहिरबाट आक्रमण हुन थालेको छ, स्पोर्टस काउन्सिल र मिडियाले पनि तनाव दिइरहेका छन् । प्रतियोगिता १५ दिन रोकेर दुबईमा लगेर खेलाऔं भनेको थियो’, चन्दले भने, ‘हामीले तत्कालै उसलाई झपारेका थियौं । सरकारले अनुमति दियो भने दोस्रो संस्करण दुबईमा लगौंला भनेका थियौं ।’
उनले जारी प्रतियोगिता जसरी पनि सम्पन्न गर्ने बताए । फ्रेन्चाइज टिमहरु खेलाडीको पारिश्रमिकका लागि तयार रहेको र प्रतियोगितामा क्यानको शुल्क बुझाउनुबाहेक सेभेन थ्री स्पोर्टसको भूमिका सकिएकाले प्रतियोगिता नरोकिने उनको दावी छ ।