बजेट अभावले नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउनमा म्याद थप

काठमाडौँ । माघ १२, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने ३६ किलोमिटर सडकखण्डलाई एसियन मापदण्डमा विकास गर्ने भन्दै डेडिकेटेड डबल लेन बनाएको तीन वर्ष पूरा भयो । सडक फराकिलो त बन्यो, तर पुल साँघुरै भए ।
फराकिलो सडक र पुल साँघुरो हुँदा एकातिर दुर्घटनाको जोखिम बढ्यो भने, अर्कोतिर जीर्ण बनेका पुलमा सवारी जाम हुने अवस्था आयो । कतै घुम्तीहरु पनि यथावत नै रहे, यसलाई पनि पुल बनाएर सिधा गराउने योजना सरकारले अगाडि ल्यायो । घुमाउरा सडक सिधा गर्ने गरी जलबिरेमा पुल बनेर सञ्चालनमा आइसक्यो भने, सेती दोभानको पुल तयार भैसकेको छ तर सञ्चालमा आउन बाँकी छ ।
चिसेञ्जी, खहरे (मुग्लिन नजिकैको) र तुइन खोला पुलको फाउण्डेसनको काम नै बाँकी छ । तोकिएको समय भित्र काम नसकिने भएपछि पुल निर्माणका लागि एक वर्ष म्याद थपिएको छ । २०८० पुस ९ गतेसम्मको म्याद थप गरिएको आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने १९ वटा पुलहरुमध्ये ४ वटा तयार भएर सञ्चालनमा आइसकेका छन् । यसरी सञ्चालनमा आएका पुलमा जलबिरे, मौरीपुल (३० मिटर) दासढुंगा पुल (२० मिटर) र खानीखोला पुल (३० मिटर) छन् ।बाँकी १५ वटा पुलमध्ये ९ वटा पुल करिब तयार भैसकेका छन् । सेती दोभान, खहरे, डुम्रे, टोपे, न्याम्सी, खोर, लामोबालुवा, भोर्लेका पुल तयार भएर सञ्चालनको तयारीमा छन् । कालीखोला, रिग्दी, सिमलताल र जुगेडीको पुलको फाउण्डेसनको काम भैरहेको छ ।
क्रसर उद्योग बन्द भएका कारण पुलहरुको ढलानको काममा समस्या आउने चिन्ता आयोजनाले गरेको भए पनि सरकारले क्रसर चल्न दिने निर्णय गरेपछि ढलानको तयारी गरेका रिग्दी खोला, जुगेडी पुल, कालीखोला पुलहरुको काम समयमा नै हुने आयोजनाले जनाएको छ । चालु वर्षमा १३ वटा पुलको काम सक्ने र क्षतिपूर्तिका लागि बजेट आए बनेका पुलहरु तत्काल सञ्चालन गर्ने योजना आयोजनाको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई ‘प्याकेज–१’ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई ‘प्याकेज–२’ बनाएर काम गर्दै आएको छ । प्याकेज–१ अन्तर्गतका पुल इच्छाकामना गाउँपालिकामा र प्याकेज–२ अन्तर्गतका पुल भरतपुर महानगरपालिकामा पर्छन् ।
प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिसेञ्जी, तुइन, काली, टोपे, न्याम्सी र रिग्दीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान गरी आठ पुल छन् । प्याकेज–१ का पुल ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँमा र प्याकेज–२ का पुल ५९ करोड ५ लाख ५९ हजार रुपैयाँमा निर्माण गर्न अनक कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । यो सडकखण्डका सबै पुल २५ मिटरभन्दा लामा छन् । यो खण्डमा २५ देखि ७५ मिटरसम्म लामो पुलहरू बनिरहेका छन् । पुलको चौडाइ सडकसँग मिल्ने गरी ७ मिटरदेखि ११ मिटर बन्दैछन् ।